Kaushik Gotriya Regmi Bandhu Samaj
काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं
दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)
समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२
स्थायी लेखा नं. (PAN): ६२१०३०५८५
खस सभ्यता कुनै एक जाति र ठाउँ विशेषको अस्तित्वको इतिहास नभइ समग्र नेपालको मूल सभ्यता हो । यो नेपाली माटोको मौलिक सभ्यता पनि हो । जसले एक स्वतन्त्र र समुन्नत सभ्यता तथा संस्कृतिको विकास गरी बृहत् भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, सामाजिक एकतामा अतुलनीय र अविस्मरणीय योगदान दिएको पाइन्छ । खसहरूको करिब १२०० वर्ष लामो शासन प्रणालीबाट आधुनिक नेपाललाई मनग्य योगदान मिलेको पाइन्छ । यसलाई चिरस्थायी राख्नु हामी सबैको कर्तव्य तथा दायित्त्व पनि हो ।
हालको नेपाली भाषाको विकास र विस्तार पनि खस साम्राज्य कालमै भएको थियो । वि.सं. १०३८ को दैलेखको दामु पालको अभिलेख (जुन नेपाली भाषाको पहिलो अभिलेख मानिन्छ), वि.सं. ११४६ को संग्राम सिंहको हुम्ला डुम्राकोटको अभिलेख, वि.सं. १३१२ को अशोक चल्लको हुम्ला रेलिङ गुम्बाको अभिलेख आदिबाट यो प्रमाणित हुन्छ ।
रेग्मी थर पनि खस साम्राज्य भित्र कुनै जात विशेषले आर्जन गरेको थर नभई स्थान विशेषले आर्जन गरेको थर हो । अहिले प्रचलनमा आएका विभिन्न थर निर्धारण गर्ने तत्त्वहरू स्थल, कोट, पदवी, वर्ग आदिबाट आएको पाइन्छ । बझाङ जिल्लाको हालको थलारा गाउँपालिकामा एउटा गाउँ रहेको छ, जुन गाउँ रेगम नाउँले चिनिएको छ । त्यस गाउँलाई डोटी राज्यका राजा रिपु मल्लले शा.के. सम्वत् १२०१ (वि.सं. १३३६)मा कुश बिर्ता दिएका थिए सोही कारणले गर्दा रेग्मी थर कायम हुन गएको हो ।
कुनै समयमा कौशिक गोत्रका ब्राह्मणहरूलाई तिमीहरू विश्वामित्रका खलक हौ, विश्वामित्र क्षत्रीय हुन् त्यस कारणले 'दिएर साध्य हुँदैन, नुहाएर उपाध्याय हुँदैन' तिमीहरू ब्रह्म कर्ममा सरिक हुन पाउँदैनौ भनेर जुम्ली राजाका पालामा विवाद चल्दा हामी कौशिक गोत्रका पनि हौँ, भट्ट पनि हौँ भनेर दाबी गरे, यसको अर्थ के रहेछ भने त्यस समयमा उपाध्यायलाई भट्ट भन्ने चलन रहेछ, किनभने सबै गोत्रका ब्राह्मणले केही पुस्तासम्म भट्ट लेखेको पाइन्छ ।
त्यसै गरी तत्कालीन समयमा ज्योतिष विषयका विद्वान् मानिसलाई जुनसुकै गोत्रको भए पनि जोशी भन्ने वा लेख्ने चलन रहेको पाइन्छ। पुराना तमसुक, भरपाई, चिना, टिप्पन समेतमा यस कुराको उल्लेख गरिएको पाइन्छ । बाबु धुरन्धर ज्योतिष भएकाले जोशी लेखे सोही कारण छोराहरूले पनि जोशी लेखे, जोशीका छोराहरू पढेलेखेका नभए पनि केही पुस्तासम्म जोशी नै लेखेको पाइन्छ ।
मानव सभ्यताका सुरुमा ब्राह्मण भन्ने जात थिएन, ब्राह्मण भनेको एउटा क्षमता थियो, पछि आएर सत्ययुगमा सबै मानिसहरू ब्राह्मण मात्र थिए अर्थात् ब्रह्म ज्ञान र असल आचरण भएका थिए । हाम्रो परम्पराअनुसार ब्राह्मण भनेको विद्वान् हुन् विद्वान् भनेको ब्राह्मण हुन् । हाम्रा पूर्वजहरू विद्वान् र ब्राह्मण दुवै विशेषता बोकेर आएका थिए। यिनीहरूसँग भएका यिनै गुणका कारण तत्कालीन चौबीसे राजारजौटाहरूले उनीहरूलाई उल्लेखित स्थानमा बस्न कर र बलपूर्ण आग्रह गर्ने गरेका थिए । योगी नरहरि नाथका अनुसार एघारौँ शताब्दीमा सिंजापति महाराजबाट धेरै नागरिकहरूलाई बिर्ता, बितलब, गुठी, इत्यादि भूस्वामीत्व वितरण गरिँदा जसले जुन नामको बिर्ता पाए उनका सन्तानलाई त्यसै गाउँको नामसँग सम्बन्धित गराइयो । एउटै बाबुका सन्तानहरूमध्ये सिग्दीमा जाने सिग्देल भएको, पौडीमा जाने पौडेल भएको र आर्जीमा जाने अर्ज्याल भएको शक्ति वल्लभ अर्यालको कुल वर्णन कवितामा उल्लेख छ ।
डोटी उडितोलाका जोशी रेग्मीहरूले त जोशी दुई थरीका छन् भन्दछन् । क. राजपुरोहित, ख. राजगुरु । राजगुरु जोशीहरू कौशिक गोत्रीय राजगुरु खलकका हुन्, उनीहरूले राजालाई सरसल्लाह दिने, मन्त्र दिने, पूजापाठ गराउने गर्दथे र दान दक्षिणा मर्दा पर्दाको लिँदैनथे । अर्का थरी जोशी राजपुरोहित हुन्, यिनको थर, गोत्र, प्रवर र कुल देवता भिन्न हुन्छन्, यिनले मर्दा पर्दा दान दक्षिणा पनि लिने गर्दथे। यसरी हेर्दा जोशी थर ज्योतिषी काम गर्ने विद्वान्लाई दिएको पद हो भन्ने बुझिन्छ ।
कुनै समयमा बस्ताकोटीहरूले बस्ताकोटी रेग्मी लेख्ने गरेका रहेछन्, रेगम गाउँबाट झिकाई दुल्लुको बस्ताकोट भन्ने ठाउँमा बिर्ता दिई बसोबास गराएका कारण यसो गरिएको रहेछ। अहिले उनीहरूले रेग्मी भन्न छाडेका छन्, त्यस्तै रिमामा बस्ने रेग्मीहरू केही पुस्तापछि रिमालमा परिणत भएका छन् । स्याङ्जाका एक थरी रेग्मीहरू दसैँका समयमा राजाका दरबारमा टीका थाप्न जाँदा बगाल (समूह)भएर जान्थे, कालान्तरमा उनीहरू बगाले रेग्मी भनेर चिनिन थाले ।
अतः ब्राह्मणबाट उपाध्याय, भट्ट, जोशी, शर्मा हुँदै मल्लकालमा आएर सबैले आफ्नो आफ्नो थर लेख्न थालेको आभाष हुन्छ, अधिकांश नेपालीहरूको मूल थलो कर्णाली फाँटको गाउँ, डाँडा, खोला र पहाड आदि थिए। जजमानी पुरोहित्याइँ, वेद पाठ तथा कथा वाचन प्रमुख पेसा भएका तागाधारी समाजलाई ब्राह्मण भनिन्छ । ब्राह्मणहरू नेपालमा उपाध्याय र जैशीमा विभाजित छन् । राजा पृथ्वीनारायण शाहको शासनकाल अघि सामाजिक रीत पूरा गरी जैशीलाई उपाध्याय बनाउने चलन थियो । पछि यो चलन बिस्तारै हरायो।
रेग्मीहरूले राजालाई राजकाज चलाउने क्रममा आवश्यक परामर्श प्रदान गर्दथे । सोही क्रममा रेग्मीहरूले राज्य विस्तार तथा युद्ध आदिका लागि साइत जुराउने, तथा युद्धका लागि गर्नु पर्ने अन्य आवश्यक चाँजोपाँजो मिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेको पाइन्छ।
दाङ