KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

समाचार / गतिविधि

समाचार / गतिविधि

Picnic.jpg

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वनभोज कार्यक्रम सम्पन्न

८ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था)ले देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यकामा आई स्थायी तथा अस्थायी रूपमा बसोवास गर्नुहुने एवम् काठमाडौं उपत्यकाका नजिकका जिल्लाहरूमा बसोवास गर्ने रेग्मी आमा–बुबा, दिदी–बहिनी, दाजु–भाइ तथा भाउजू–बुहारीहरूका बिचमा चिनजान गर्ने, आत्मीयता अभिवृद्धि गर्ने, आपसी भाइचारा बढाउने उद्देश्यका साथ बालाजु स्थित बाइसधारा उद्यानमा आयोजित वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । ,,उक्त वनभोज कार्यक्रमको संयोजन श्रीमती शोभा रेग्मीले गर्नुभएको थियो भने सहसंयोजन श्री हुमनाथ (कमल) रेग्मी, सदस्यमा श्री नवीन किशोर रेग्मी, श्री राजेश रेग्मी र श्री सुनिलकुमार रेग्मी हुनुहुन्थ्यो । काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायमा आबद्ध रेग्मी बन्धुहरूको आपसी सद्भावमा वृद्धि होओस् भन्ने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित ज्येष्ठ सदस्य वासु रेग्मीज्यूलाई सम्मान गरिएको थियो । ,कौशिक गोत्रीय रेग्मी बन्धु समाजका कोषाध्यक्ष श्री किशोर रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो भने अध्यक्ष श्री सुधिर कुमार रेग्मीले जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्नुको कारण तथा उपादेयताका बारेमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाका सचिव मोहन प्रसाद रेग्मीले गर्नुभएको थियो ।,,उक्त वनभोज कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत आयोजना गरिएको थियो । सो वनभोज कार्यक्रममा इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, खोटाङ्ग, सप्तरी, धनुषा, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, कास्की, पर्वत, स्याङ्गजा, बाग्लुङ्ग, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली, सुर्खेत, दैलेख, लगायत देशका विभिन्न जिल्लाहरूबाट करिब १२० जनाको उपस्थिति रहेको थियो । ,साथै उक्त कार्यक्रममा कौशिक गोत्रीय रेग्मी बन्धु समाजद्वारा प्रकाशित २०८१ सालको भित्तेपात्रो सार्वजनिक तथा वितरण शुभारम्भ र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो । ,,

Upatyaka Gathan.jpg

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको उपत्यका सम्पर्क तथा समन्वय समिति गठन

८ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था) द्वारा बालाजु स्थित बाइसधारा उद्यानमा आयोजित वनभोज कार्यक्रमका दौरान देशका विभिन्न स्थानबाट काठमाडौं‌ उपत्यकामा आई बसोबास गर्ने रेग्मीहरूलाई एकताबद्ध गर्ने, आपसी भाइचारा अभिवृद्धि गर्ने, आत्मीयता कायम गर्ने उद्देश्यले कौशिक गोत्रीय रेग्मी बन्धु समाजको उपत्यका सम्पर्क तथा समन्वय समिति गठन गरियो । ,उपत्यका सम्पर्क तथा समन्वय समितिको निर्वाचन प्रकृयाका लागि श्री कृष्णप्रसाद रेग्मी (भक्तपुर)को संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो जसका सदस्यहरूमा श्री ज्वालाप्रसाद रेग्मी (दैलेख) र श्रीमती अप्सरा नेपाल रेग्मी (धादिङ्ग) रहनु भएको थियो । निर्वाचन समितिले आकांक्षी सम्पूर्ण रेग्मी बन्धुहरूका बिचमा व्यापक छलफल गरी सर्वसम्मत रूपमा ११ सदस्यीय समिति निर्वाचित गरेको थियो । समितिको अध्यक्षमा श्रीमती शोभा रेग्मी (ललितपुर), उपाध्यक्षमा श्री नवीन किशोर रेग्मी (भक्तपुर), सचिवमा हुमनाथ (कमल) रेग्मी (रुपन्देही), सह–सचिवमा श्री राजेश रेग्मी (काठमाडौं), कोषाध्यक्षमा श्री सुनिलकुमार रेग्मी (काठमाडौं), सदस्यहरूमा श्री चेतुप्रसाद रेग्मी (मोरङ्ग), श्रीमती यशोदा रेग्मी (दोलखा), श्री खम्ब बहादुर रेग्मी (सुर्खेत), श्री केशव रेग्मी (काठमाडौं), श्री जगन रेग्मी (काठमाडौं) र श्री सागर रेग्मी (मोरङ्ग) सर्वसम्मत रूपमा चयन हुनुभएको थियो । ,,साथै सो समितिका सल्लाहकारमा डा. विमला दाहाल रेग्मी (काठमाडौं) र श्री नरेन्द्र बहादुर रेग्मी (पर्वत) चयन हुनुभएको थियो । ,

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वेबसाइट सञ्चालनमा

३१ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था)ले www.kaushikgotriya.org.np नामक वेवसाईट सञ्चालनमा ल्याएको छ । उक्त वेवसाईट संस्थाका संस्थापक सचिव श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग) र संस्थाका शुभचिन्तक श्री स्वेतराज पौडेल (पर्वत)ले संयुक्त रूपमा डिजाइन गरी संस्थालाई निःशुल्क रूपमा उपलब्ध गराउनु भएको हो । ,,उक्त वेबसाइटमा संस्थाको बारेमा विविध जानकारी, संस्थाले समय समयमा जारी गर्ने सूचना तथा जानकारी, धार्मिक, ऐतिहासिक, पुरातात्विक लगायत विभिन्न प्रकारका लेख तथा रचनाहरू, विभिन्न स्थान विशेषका कुल पूजा विधि, उपलब्ध भए सम्मका वंशावली, अनलाइनबाट नै सदस्यता प्राप्त गर्न तथा सदस्यता प्राप्त गरिसकेका बन्धुहरूले आफ्नो सदस्यताको खोजी गर्न सकिने छ। संस्थाले गरेका तथा गर्ने विभिन्न गतिविधीहरूका फोटोहरू हेर्नका लागि ग्यालरी रहेको छ भने संस्थामा अनलाइनबाट नै सल्लाह, सुझाव तथा प्रतिक्रिया दिनका लागि सम्पर्कको व्यवस्था समेत गरिएको छ । ,,साथै उक्त वेबसाइटको Hosting and Maintenance Charge संस्थाका संस्थापक सचिव श्री मोहन प्रसाद रेग्मीले व्यक्तिगत रूपमा व्यहोर्ने वचनबद्धता समेत व्यक्त गर्नुभएको छ । अथक मेहनतका साथ निःशुल्क रूपमा वेबसाइट तयार गर्नुभएका श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग) र श्री स्वेतराज पौडेल (पर्वत) प्रति हार्दिक आभार प्रकट गर्नुका साथै कौशिक गोत्रीय रेग्मी बन्धु समाज वहाँहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ । ,

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

८ असार । काठमाडौं । कौशिक गोत्रीय रेग्मी बन्धु समाजले धोबिघाट, ललितपुर स्थित यशस्वी गुरुकुल इङ्लिस स्कुलमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।,,उक्त कार्यक्रममा पूर्वको इलाम देखि पश्चिमको अछाम सम्मका रेग्मी बन्धुहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्त, सिद्धान्त ज्योतिषविद् डा. जयन्त आचार्य र रेग्मी इतिहासका अनुसन्धाता श्री सुधिर कुमार रेग्मी लगायतका वक्ता हुनुहुन्थ्यो ।,,कार्यक्रममा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्तले “खस आर्य र क्षत्रिय एवम् ब्राह्मणको इतिहास”, ज्योतिषविद् डा. जयन्त आचार्यले “समाजमा ज्योतिषशास्त्रको महत्त्व तथा नेपाल सरकारले ध्यान दिनुपर्ने विषय” र रेग्मी इतिहासका अनुसन्धाता श्री सुधिर कुमार रेग्मीले “रेग्मीको इतिहास एवम् इतिवृत्तिका विषय”मा प्रकाश पार्नु भएको थियो ।,,उक्त कार्यक्रमको अध्यक्षता कौशिक गोत्रीय रेग्मी बन्धु समाजका अध्यक्ष श्री सुधिर कुमार रेग्मीले गर्नु भएको थियो भने कार्यक्रमका अतिथिका रूपमा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्तज्यू र सिद्धान्त ज्योतिषविद् डा. जयन्त आचार्यज्यू रहनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव श्री मोहन प्रसाद रेग्मीले गर्नुभएको थियो । त्यसैगरी संस्थाका उपाध्यक्ष श्री टिकाराम रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो ।,,सोही कार्यक्रममा स्पाइनल कर्डमा समस्या भएर विगत २ वर्षदेखि उपचाररत वालिङ नगरपालिका वडा नं. १ स्याङ्जाका कुलप्रसाद रेग्मी (कृष्ण रेग्मी)लाई उपस्थित रेग्मी बन्धुहरूले आर्थिक सहयोग समेत गर्नुभएको थियो ।,

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको प्रथम वार्षिक साधारण सभा सम्पन्न

२३ भाद्र । काठमाडौँ । कौशिक गोत्रीय रेग्मी बन्धु समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन २०८१ साल भाद्र २२ गते शनिवारका दिन संस्थाको रजिष्टर्ड कार्यालय, नयाँबानेश्वर, काठमाडौँमा सम्पन्न भएको छ । ,उक्त साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्री सुधिर कुमार रेग्मीज्यूले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव श्री मोहन प्रसाद रेग्मीज्यूले गर्नुभएको थियो ।,साधारण सभामा अध्यक्षको प्रतिवेदन, सचिवको वार्षिक प्रगति प्रतिवेदन एवम् भावी कार्यक्रमको योजना तथा संस्थागत विकासका सङ्कल्प, कोषाध्यक्षको आर्थिक प्रतिवेदन एवम् चालु आर्थिक वर्षको आम्दानी तथा खर्चको अनुमानित विवरण, गत आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन, आगामी वर्ष २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा कार्यविधि पारित, विधान संशोधन र नयाँ कार्य समितिको गठन लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो ।,अधिवक्ता देवी प्रसाद भट्टराईको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले उक्त साधारण सभाका दिन श्री सुधिर कुमार रेग्मी (दाङ)को अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।,संस्थाको उपाध्यक्ष श्री टिकाराम रेग्मी (पर्वत), सचिव श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग, हालः भक्तपुर), कोषाध्यक्ष श्री किशोर रेग्मी (गोरखा) र सदस्यहरू श्री होरेश रेग्मी (काठमाडौँ), श्री लक्ष्मण रेग्मी (काठमाडौँ), श्री पुष्पा भट्टराई रेग्मी (भक्तपुर), श्री लोकनाथ रेग्मी (मोरङ्ग) र श्री मनोज कुमार रेग्मी (दोलखा) निर्वाचित हुनुभएको छ ।,साधारण सभाले धेरै भन्दा धेरै बन्धुहरूलाई समेट्ने उद्देश्यले हाल विद्यमान ९ सदस्यीय कार्य समितिलाई १७ सदस्यीय बनाउनका लागि विधान संशोधन गर्ने लगायत अन्य महत्त्वपूर्ण निर्णयहरू गरेको संस्थाका नव निर्वाचित सचिव श्री मोहन प्रसाद रेग्मीज्यूले जानकारी दिनुभएको छ ।,

© 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved