KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

लेख / रचना

चिना हराएका जस्ता आजका मानिस

मानव जीवन पाउनु दुर्लभ कुरा हो । देवताहरू पनि मानव जीवन पाउन लालायित हुने गर्दछन् । त्यसैले पाएको यो मानव जीवनलाई नक्कली सन्त, महन्त, गुरुहरू, आचार्यहरू तथा पन्थीहरूको पछि लगाएर जीवनलाई निरर्थक बनाउने काम गर्न हुँदैन ।

आजका मानिस पाप नाश र जीवन मुक्तिको नाममा पूजापाठ गराएर, तीर्थब्रत गराएर समय र द्रव्यको विनाश गराउँदछन् । त्यसबाट न उनीहरूले गरेको पाप नाश हुन्छ न मुक्ति नै प्राप्त हुन्छ । भागवद गीता चार वेदको सार भएको कुरामा कसैको विमति छैन। सबै धर्महरूको मुल बौद्धिक सनातन धर्म भएकाले नै उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परब्रह्म परमात्माको पूजा अर्चना गर्ने गरेको देखिन्छ ।

सबै धर्मावलम्बीहरू आर्यकै सन्तान भएकाले सनातन धर्मको बाटो त्याग्न नसकेको कुरा बिर्सन हुँदैन । कुरुक्षेत्रमा अर्जुनलाई गीताको उपदेश दिने यदुवंशी कृष्ण नभएर उनमा प्रवेश गरेका परब्रह्म परमात्मा भएकाले त्यहाँ भनिएको छ– 'यदि पूजा गर्ने नै हो भने मेरो गर तिम्रो मुक्ति र कल्याण हुनेछ, यदि म बाहेक अरू कसैको पूजा अर्चना गर्दछौ भने न तिम्रो मुक्ति हुन सक्दछ न तिम्रो कल्याण नै हुने छ ।'

यस कुरालाई गीतामा त भनिएकै छ– 'स्वयम् कृष्णले महाभारतको अन्त्यमा पाण्डवहरूका सामु स्वीकारेका छन् तर हामीलाई पाप, पूण्य, स्वर्ग, नरक र सुखद भावी जीवनको भ्रममा भ्रमित पारेर जो गर्ने र गराउने गरिएको छ ।' त्यो प्रवृत्ति नै मानव जीवनको दुःख कष्ट र अशान्तिको कारण बन्न गएको हो ।

राजनीतिकर्मीहरूले आफ्नो सिद्धान्तको आस्था र निष्ठालाई तपसिलमा राखी मनोमानी ढङ्गबाट सिद्धान्तलाई विकृत बनाएझैँ सन्त, महन्त, गुरु, आचार्य, पन्थीहरूले धर्मको मूल्य मान्यता र सिद्धान्तलाई तपसिलमा राखी मनोमानी ढङ्गबाट धार्मिक क्रियाकलाप गर्ने र गराउने भएकाले विकृतिहरू थपिँदै गएको हुनुपर्दछ ।

कर्मकाण्डहरूको वैज्ञानिकता छ तर त्यसको गराउने विधि र विधानमा एकरूपता नभएकाले यो पनि नेपालको गणतन्त्र जस्तो हुन गएको हो ।

कामना क्रोध वा लोभ तीन यि आत्म नासक

नरक द्वार हुन् पार्थ यिनको त्यागै छ लायक ।।२१।।

तीन यि तमका ढोका देखि जब विभुक्त भो

अनि आफ्नो गरि श्रेय त्यो परंपर निष्ट भो ।।२२।।

शास्त्रको विधि छाडेर चल्छ जो मन मोजले

सिद्धि सौख्य परंधाम कुनै पाउन्न त्यसले ।।२३।।

शास्त्रै प्रमाण छन् सारा कार्याकार्य बुझाउन

तत्मात् शास्त्र विधानैका कार्यमा चल अर्जुन ।।२४।।

गीताको १६ अध्यायमा उल्लेख छ भने गीताको ज्ञान दिने को हो भन्ने सम्बन्धमा ११औँ अध्यायमा उल्लेख छ ।

सर्वश्रेष्ठ देवताको रूपमा हामीले पूजा अर्चना गर्ने ब्रह्मा, विष्णु, महेश पनि अजर, अमर अविनाशी नभएर जन्म, मृत्युको चक्करमा परेका हुन्छन् भन्ने कुरा पनि गीताले भन्दछ ।

यी देवताका बाबुआमा कालरुपी ब्रह्मसाता दुर्गादेवी भएको कुरा पनि गीतामै उल्लेख छ। तर यो कलियुगका सन्त, महन्त, गुरुहरू, आचार्यहरू, मठमन्दिरका सञ्चालकहरूलाई थाहा नै नभएर हो । यी देवताहरूलाई अविनाशी अजर अमर जन्म मृत्यु नहुने भनेर भन्ने गर्दछन् ।

यसरी शास्त्र विरुद्ध भक्ति साधना गराएर परमात्माको लाभबाट वञ्चित राखेर सबैको जन्म नष्ट गराइदिएको अवस्था छ । विगतमा मानिसहरूमा शिक्षाको विकास थिएन । त्यसैले स्वर्ग, नरक, पाप, पुण्यबाट आक्रान्त भएका मानिसले जसले जे भन्छ त्यही गर्ने गर्दा यस्ता विकृतिहरू थपिँदै गएका हुन् । पूर्वयुगहरुमा नभएका कुराहरूले यो कलियुगमा प्रश्रय पाउनुको कारण के होला भनेर सबैले सहज रूपमा बुझ्न र बुझाउन सक्दछ जस्तो लाग्छ ।

शास्त्रहरूमा वेद र गीता विशेष मानिन्छन् । यस अतिरिक्त अठार पुराण, रामायण, महाभारत पनि विशेष प्रमाणित शास्त्रमा मानिन्छन् । वेद, पुराण, गीता आदि शास्त्रहरू केवल हिन्दु धर्मका मात्र नभएर सबै धर्महरूका शास्त्र हुन् । जुन बेला महर्षि वेद व्यासले वेद पुराणहरू लेखेका थिए त्यस बेला विश्वमा सनातन धर्मभन्दा अरू कुनै धर्म अस्तित्वमा नै आएको थिएन ।

गीता र पुराणहरू जो छन् ती सबै मानव कल्याणको लागि रचना गरिएका शास्त्रहरू हुन्। तीनलाई कसैले तेरो र मेरो भन्नु नै धार्मिक विवादको जड हो । यति बेला विश्वको परिवेशलाई विवेचना गर्ने हो भने एउटा के सिद्ध हुन गएको छ भने मानिसको जीवन भन्नु नै भौतिक र आध्यात्मिकताको सम्मिश्रणले बनेको हुन्छ । शरीर भौतिक हो, आत्मा आध्यात्मिक हो । यी दुईको बिचमा समन्वय भएन भने जीवन क्रियाशील हुन सक्दैन ।

त्यसै गरी जीवनको हरेक क्षेत्रमा भौतिकता र आध्यात्मिकताको समन्वय हुन सकेन भने जीवन दुःख, कष्ट र अशान्तिको भुमरीमा फसेको हुन्छ । आज पाश्चात्य विकसित देशहरूमा मानिसहरूमा सुख, सुविधा, आनन्द र विलासिताका हरेक वस्तुहरू प्राप्त छन् तर मनमा शान्ति र आनन्दित जीवन प्राप्त गर्न नसकेको अवस्था छ । त्यसैले आज विदेशमा ठूलाठूला विश्वविद्यालयहरूमा वेद गीताहरूको पढाइ हुन्छ ।

सनातन धर्मले सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भनेर विदेशीहरूले हिन्दु धर्मलाई आफ्नो मूल धर्म बनाएर पूजापाठ भजन, कीर्तन, योग ज्ञान, ध्यानतर्फ लाग्नेहरूको सङ्ख्या बाक्लिँदै गएको देखिन्छ । तर हिन्दु धर्म मान्नेहरूले आफ्नो धर्म र संस्कृति त्यागेर विदेशी संस्कृति र संस्कारको धर्म अवलम्बन गरेर गौरवान्वित भएको देखिन्छन् ।

उनीहरूले चिना हराएको मानिसजस्तो भएर बस्नु परेको अनुभूति नहुनु नै दुर्भाग्य हो भन्ने कुरा अहिलेसम्म आत्मसात् गर्न सकेका छैनन् । धन, सम्पत्तिले हरेक प्रकारका सुख शान्ति र आनन्द पाउने भए आज विकसित देशका धनाढ्यहरू किन दुःखी एवम् अशान्त भएर बस्नुपरेको छ ? भन्ने कुरा सबैले आत्मसात् गर्नै पर्छ ।

गुरुप्रसाद शर्मा रेग्मी

दाङ

© 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved